''वैदेशिक रोजगारीका लागि इजरायल पठाउने तयारी के हुदैँछ ? ''
वैदेशिक रोजगारीका लागि इजरायल पठाउने तयारी के हुदैँछ ?
काठमाडौं, १३ फागुन । वैदेशिक रोजगारीको लागि निकै आकर्षक मानिएको मुलुक इजरायलमा रोजगारी खुल्ने अन्तिम तयारी भइरहकोे छ । वैदेशिक रोजगार विभागमा इजरायली दूतावासबाट पाइलट प्रोजेक्ट अन्तर्गतको दोस्रो चरणको लागि ६० जना केयर गिभरको माग आएपछि इजरायल खुल्ने तयारी भएको हो । वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले बुधबार यस सम्बन्धि इजरायली दूतावासको पत्र प्राप्त भएको र आगामी साता यस सम्बन्धि सूचना प्रकाशन गर्ने तयारीमा आफूहरू रहेको बताएकी छिन् । प्रवक्ता भट्टराईले विगतमा ईजरायल खुलाउने विषयमा चलेको झुटो हल्लाका कारणले विभागमा अनावश्क चाप र भिडभाड हुने गरेको भन्दै आवेदन दिन ईच्छुक व्यक्तिहरूलाई विभागको आधिकारीक वेबसाइडमा र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना हेर्न समेत अनुरोध गरकी छिन् । दुवै देशबीच सरकारी सम्झौता अर्थात (जिटुजी)मार्फत नेपाली कामदार इजरायल जान पाउने सम्झौता अनुसार नेपाली कामदार इजरायल जाने गरेका छन् । गत २०७२ श्रावण २२ गते वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक भरत सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत ८० प्रतिशत महिला कामदार हुनुपर्ने छ । पाइलट प्रोजेक्ट अन्तर्गत ३ सय जना नेपाली कामदार इजरायल लैजाने र उनीहरूको प्रस्तुतीको आधारमा अन्य नेपाली कामदारहरूलाई रोजगारीका लागि इजरायल लैजाने सम्झौता भएतापनि हालसम्म ५९ जना नेपाली कामदारहरू मात्रै इजरायल पुगेका छन् । दोस्रो चरणमा पुनः ६० जना कामदार इजरायल पठाउने तयारी गरिएको छ । इजरायल जानको लागि १.४ मिटर उचाई भएका, मानसिक तथा शारिरिक रूपमा स्वस्थ भएका, प्रहरीबाट स्वच्छ आचरण प्रमाणित भएका, अंग्रेजी भाषामा प्रमाणपत्र तह सरह दक्षता हासिल गरेका, हालसम्म इजरायलमा काम नगरेका लगायतका मापदण्ड भएका व्यक्तिहरूले आबेदन दिन सक्ने छन् । इजरायली दूतावासले पठाएको पत्रमा उल्लेख कार्यतालिका अनुसार २३ फेबु्रअरी अर्थात् बिहीबार राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी १० जुन २०१७ अर्थात् आगामी जेष्ठ २७ सम्ममा दोस्रो चरणको कामदार इजरायल पठाइसक्नु पर्ने खुलेको छ । यहि गतिमा कामदार पठाइने हो भने पाइलट प्रोजेक्टकै लागि ५ पटक कामदार पठाउन पर्ने देखिन्छ । दोस्रो चरणको कामदार इजरायल पठाउनको लागि मात्रै लगभग २ वर्षको समय लाग्ने देखिन्छ । सरकारी पक्षले यस विषयमा तदारुकता नदेखाए पाइटल प्रोजेक्टको लागि मात्रै अझै लामो समय लाग्ने देखिन्छ । प्रभावका अनुसार, पाइलट प्रोजेक्टमा गएका कामदारहरूको प्रस्तुतीको आधारमा अन्य कामदार इजरायल पठाउने सम्झौता रहेको हुँदा नियमित रूपमा ठूलो संख्यामा नेपाली कामदार इजरायल पठाउन अझै लामो समय लाग्ने देखिन्छ । इजरायल जान इच्छुक नागरिकहरूले ३ महिने नर्सिङ तथा केयरगीभरको तालिम लिएको हुनुपर्ने भएको हुँदा हाल त्यस्त्ँँ १७ वटा तालिम प्रदायक संस्थाहरू सञ्चालनमा रहेका छन् । जसअन्तर्गत हालसम्म १ हजार ७ सय जना व्यक्तिहरूले तालिम लिएर इजरायल जानको लागि आवेदन दिन तयार रहेका छन् । पहिले नै १ हजार ७ सय जना व्यक्तिहरू तालिम लिएर तयार भएको हुँदा अब नयाँ तालिम लिई इजरायल जाने मनसाय बनाएका व्यक्तिहरूको इजरायल जाने सम्भावना देखिँदैन । इजरायल सरकारसँग पाइलट प्रोजेक्टलाई अन्त्य गर्दै नियमित कोटा दिन बारम्बार छलफल तथा अनुरोध गरिरहेको सरकारी पक्षले जनाएको छ
,

0 comments

Write Down Your Responses